शुभकामना

नेपाल बहुजातीय, बहुभाषिक र बहुसाँस्कृतिक देश हो।नेपालको संविधान (२०७२) ले नेपालमा बोलिने सबै मातृभाषाहरूलाई राष्ट्रभाषाको रूपमा मान्यता दिएको छ। नेपालमा प्रत्येक व्यक्ति र समुदायलाई आफ्नो भाषा प्रयोग गर्ने मात्र नभई आफ्नो भाषा, लिपि, संस्कृति, सांस्कृतिक सभ्यता र सम्पदाको संवर्धन र संरक्षण गर्ने हक पनि प्रदान गरिएको छ।यसै सन्दर्भमा स्युबा (कागते) जस्तो जनसङ्ख्याका हिसाबले सङ्कटापन्न भोट-बर्मेली भाषा परिवारको भाषामा स्युबा-नेपाली-अङ्ग्रेजी त्रिभाषिक शब्दकोश सम्बन्धित भाषिक समुदायको सहभागितामा निर्माण भई हिमाली आदिबासी समाज, नेपालको तर्फबाट प्रकाशन हुनु अति नै  सराहनीय काम हो। यस अवसरमा भाषा विज्ञान केन्द्रीय विभागका तर्फबाट स्युबा भाषिक समुदाय, सम्पादक, प्रकाशक लगायत प्रत्यक्ष वा परोक्ष रूपमा सहयोग गर्ने सबै प्रति शुभकामना व्यक्त गर्न चाहन्छु।

नेपालका अल्पसङ्ख्यक स्युबाहरूको मातृभाषाको संरक्षण, विकास तथा मातृभाषामा आधारभूत शिक्षाका लागि आवश्यक पर्ने सामग्रीको निर्माणका लागि आधिकारिक शब्दकोश अपरिहार्य रहेको  अवस्थामा हरेक अर्थतात्विक क्षेत्र आधारमा द्रुत शब्द सङ्कलन पद्दति अपनाई सङ्कलन गरिएका  शब्दहरूलाई आधुनिक कोशविज्ञानका आधारभूत विधि अनुसार प्रविष्टि गरी निर्माण गरिएको यो शब्दकोशले  भाषाको प्रयोग क्षेत्रको बिस्तारमा ठूलो भूमिका खेल्ने छ।स्युबा समुदायका सबै उमेर समुहका व्यक्तिले यस भाषालाई मौखिक रूपमा प्रयोग  गर्ने र बालबालिकाले पनि पहिलो भाषाको रूपमा सिक्ने गरेको पाइन्छ। तथापि नेपाली समाजमा अङ्ग्रेजी र नेपाली भाषाको बढ्दै गइरहेको प्रकार्यात्मक भूमिका र बसाइ-सराइ कारणले यस भाषाका बक्ताको सङ्ख्या ज्यादै कम भएको पाइन्छ।यस तर्फ भाषिक समुदाय र सरकार समयमै सजग हुनु जरुरी छ।

 

नेपालमा सबै भाषाहरूको वैज्ञानिक अध्ययन भइसकेको पनि  छैन। नेपालमा धेरै भाषाहरू सङ्कटापन्‍न अवस्थामा छन्।लोकतान्त्रिक सरकारले यस्ता भाषिक समुदायका तर्फबाट गरिएका प्रयासलाई प्राविधिक तथा आर्थिक रूपमा सहयोग गर्नु आवश्यक छ। नेपालका भाषाको सर्वेक्षण गराई समाजभाषिक स्थितिको पहिचान गर्ने, लिपीको विकास गराउने, भाषाको अभिलेखीकरण गराउने र शब्दकोश र व्याकरणको निर्माण गर्ने जस्ता कुरामा सबै भाषिक समुदाय र सरकार  गंभिर हुनु पर्दछ।वर्तमान अवस्थामा हरेक सङ्कटापन्न भाषिक समुदाय भित्रबाट नै भाषाविज्ञको उत्पादन हुनु राम्रो हुन्छ।यस्ता भाषाविज्ञको मार्गदर्शनमा मात्र हरेक भाषामा अन्तर्निहित जीवनका लागि नभई नहुने ज्ञान (life crucial knowledge)को पुस्तान्तरणका लागि प्रभावकारी अभिलेखीकरण गर्न सकिन्छ र भाषालाई जीवन्त राख्‍ने हरेक प्रयासलाई  प्रभावकारी रूपमा कार्यान्वयनमा ल्याउन सकिन्छ। यसै दिशामा हिमाली आदिबासी समाज, नेपाल र स्युबा भाषिक समुदायले अगामी दिनमा पनि स्युबा भाषाको विकासका लागि अझ गहन कार्यका लागि निरन्तरता दिनेछन् भन्‍ने अपेक्षा गर्दछु। यस  त्रिभाषिक शब्दकोशले स्युबा भाषा र संस्कृतिको संरक्षण, संवर्धन र विकास गर्न ठूलो योगदान पुर्‍याओस् भन्‍ने शुभकामना व्यक्त गर्दछु।

प्रा. डा. दानराज रेग्मी

विभागीय प्रमुख तथा निर्देशक

नेपालको भाषिक सर्वेक्षण